Friday, June 26, 2015

"बगेको मोती "


हाउ  लुङ्गवा  !
देब्रे हातमा हसिँया
दाहिने हातले बिडी च्यापी
कम्बरमा नाम्लो कसेर
अलैची बगान पस्नु अघि
एक लर्को सुसेलीमा
एक लर्को पालम गाएका थियौ ।

मलाई थाहा छ

सान्थाक्रा र खाम्लुङका पाखाहरुमा
डम्मरसाई र रामसाईका बेर्ना सार्ने
खोक्लिन लिवाङ थुकिमा र थिङ्लाबुका
डाँडा पाखाहरुमा
राम्ला र चिबेसाइका बिरुवा बेर्ना सारी
हरियाली अलैची बगान बनाउनुमा
तिम्रो ठुलो हात छ
र त... भन्ने गर्दथ्यौ
'हाम्रा भाई भतिजाहरु
मलाया र सिङ्गापुरमा
युके र युरोपमा
अमेरिका र कोरियामा
पैसाको बोट देख्छन
यहिको सुन खानी देख्दैनन
यहिको मोती खानी चिन्दैनन
यहिको हिरा खानी उत्खनन गर्दैनन....'


काँचो दाउराले बगानभित्र
भट्टीमा मोटी पगाल्दै थियौ
स्वाभिमानी श्रमले
आफ्नै बारीमा पसिना खसाउदा
प्रकृति भित्र भित्रै किन पग्लिनु पर्‍यो?
प्रकृति भित्र भित्रै किन गल्नु पर्‍यो ?
अन्त त, हाउ लुङ्गवा   !
असारे झरी संगै तिम्रो र मेरो सपना बगेर
मेवा मैवा र तमोरमा समाविष्ठ हुँदा
शक्तिकी पाथिभरा पनि
शायद,
शक्तिहिन भै, टुलुटुलु हेरी रहिन
जोगाउने कुनै जोड चलेन


आज पनि फुस्स माटो झर्‍यो
कतै तिमीले पहिले जस्तै
माथिल्लो गर्हाबाट जिस्क्यायौ की !
आँखा तन्काएर नियालेँ
चमेलीको घर देखिँन
थिङ्लाबु काँइलाको गोठ थिएन
बाँसै बाँसको कप्ट्यारो टाँगेको
हाम्रो पानी पधेँरो थिएन
दाजुभाइ थिएनन ,आमाबाबा थिएनन
दिदी बहिनी थिएनन
घर थिएन,गाउँबस्ती थिएन
हामी सुस्ताउने चौतारी थिएन
अनि त,
हाउ लुङ्गवा   !
मैले फेरी संगै ढाकर बोकेर
लैबरी गाउने साथी खोजेँ
घाँस दाउरा गर्ने हितैसी खोजेँ
एउटै सेरे बटुकाको जाँड
दुइतिर मुख लगाएर तान्ने आत्मियता खोजेँ
ढोल नाँच्दा  'छुइया'.. भन्ने थुप्रैलाई खोजेँ
अँ हँ, भेटिँन
बरु,
हिलोबाट कोट्याएर निकालेको एउटा फोटो
सबै गुमाए पछीको नयाँ छाप्राको दैलोमाथि
सम्झना भएर हल्लिरहन्छ
विपतलाइ झस्काउदै झस्काउदै

कन्चन्जंघाको शीरबाट पग्लेर बगेको हिउँसगै
कति विपतको बिलौना गाऊ म ?
मैले त मेरो मुटुको अंश गुमाएको छु
गाउँघर गुमाएको छु,
बस्ती र बगान गुमाएको छु
हाउ  लुङ्गवा  !
तिमी कहिल्यै नआउने गरी बगेर गयौ
र त
मेरो जुन बगेको छ,मेरो सुन बगेको छ
हिराको खानी बगेको छ
मोती बगेको छ
ए लुङ्गवा  ! तिमी बग्दा
हजारौको गह भरी सेती बगेको छ
अविरल,अनवरत मोती बगी रहेछ
   

No comments:

Post a Comment