हिड्दा हिड्दै,एकछिन पुलमाथी उभिएर
एकोहोरो नियाली रहेछु निलो नदी
कतै देखिन्दैन त बगेको जिन्दगी ।
यी तङगिणीको सुसेलीमा वयेली खेलेको बतास
जीवनको सन्देश बोकेर केश चुम्दा
बिस्तारै हल्लिन्छ पुल
म संम्झिन्छु
आमाले कोर्क्रामा लै लै भन्दै गाएको
यही जिन्दगीको लामो लोरी ।
संङ्लो पानी अन्जुलीमा उठाएर, बैशको प्यास मेटदै
अनुहारमा छ्यापी आत्मा सितल पार्ने धेरै छन
तर,
रुप बाग्मती भएपछी कसैले संम्झिदैनन
पुलको छाती टेकेर
कहाँ कहाँ पुगेका यात्रीले, पुल बिर्सिए जस्तै
पुल तरेर पुल बिर्सनु
उस्तै हो,
जन्मेर,जन्मभुमि बिर्सनु ।
पुल माथी छु यतिबेला
पुलमुनि निस्चल एउटा नदी एकोहोरो बगिरहेछ
दुई किनार साथमा लिएर..
मेरा पनि दु:ख सुखका किनार छन नदीको जस्तै
जीवनको मिसिसिपी पार गर्न
कति पुलहरु, कस्ता पुलहरु तर्नु छ अझै अझै
पुलमाथी,
गोजीबाट निकाली छाती र निधार छुवाइ
हातबाट फुस्की फिलिली कस्ने सिक्का(भेटी) ले
कुन गन्तब्य निस्चय गर्छ होला
जिन्दगीमा कुनै पुल पार गर्नु ठुलो होइन
कुन पुल तर्ने निस्चय गर्नु महत्वपूर्ण हो रे !
न मैले कुनै पुल नै तरेँ
न मैले यही पुल तर्छु भन्ने निस्चय नै गरेँ
र त ,
सधैं सधैं, जिन्दगी कोक्रा भै
तर्दा तर्दै, तर्न बाँकी भै ,पेन्डुलम झै हल्लिरहेछ
पुलमाथी यता उता यता उता
No comments:
Post a Comment