Thursday, January 4, 2018

म त्यही  छु 
जहाँ झ्याल बाहिर पुसको हिउँ फुस्फुसाउँछ
कतै नडुलाउँ भनेर रोकेको नजर
हिउँको बिस्कुनमा पोखिन्छ
यही बेला आमा भन्दिहुन,
"कठै यो जाडोमा मेरो कान्छा !"
आमाले जस्तै
कुनै उपमा दिएर
कठै भन्दै संम्झिएको धेरै भयो 
खड्किएको धेरै भयो
तिमीले बिर्सिएको न्यानो मायाँ
सिरकभित्रको तापले के पुर्ती होला र ....




रातले शीत छर्दै गर्दा
एकछिनपछी, पोखिने उषाले,धर्ती चुमेपछी
फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे,
यी छातीमा सवार प्रेमका ढुङ्गा
छायाँ प्रेममा हलचल हलचल तैरिएर त हो 
मेरो ओठको उष्ण बाफ र
बाहिरको चिसो हावाले
एकै चोटी स्पर्श गर्दा
छार्लाम्छुर्लुम फुटे
म नजिकैको सिसाको झ्याल जस्तै
मेरा प्रेम महलहरु





माथी लेक,त्यो भन्दा माथी सिद्धीमा
बुकी फूलले विरह गाएको बेला,
प्रेमको वसन्त ल्याउन
नजिकैको गुम्बामा
सुनपाती चढाएको हुँ
सुक्पाको सुगन्ध फैलाएको हुँ 
नेपथ्यमा कसैले गाएको सेलो
त्यो मेरो लागि थियो
प्रकृतिले फुस्स फुस्स मणिभ जन्माउदा 
दुर्भाग्य!
एक झोक्का सिरेटो थपियो त्यही 
मैले भगवानलाई छुवाएर दुई हातले उठाएको खदा
कसैको गलामा सजिनु पूर्व 
बेसन्देश किन रुखमा अल्झिएर फर्फराइरहयो 
मैले औलामा च्यापेर उठाएको एक चिम्टी सिन्दुर
आँधीको यात्रामा किन फ्यास्स पोखिएर उढ्यो
कति सोधौ ,कति सोधेँ, केही भन्दैन यो ओसिलो सिरानी
बरु
हिउको माम्री मुनी हजारौका खुट्टाहरुले कुल्चिएको
सिन्दुरको अस्तित्वले बताउछ
ओसिलो सिरानी न हो
तिम्रो न्यानो मायाको निसानी ...
     







    

No comments:

Post a Comment