Tuesday, July 9, 2013

डियर कल्याण

कबिता - डियर कल्याण 

डियर कल्याण !
धेरै को कथा, र
धेरैको ब्यथा सुने पस्च्यात,
मलाई पनि,
आफ्नो कथा,लेख्न मन लाग्यो
आफ्नो ब्यथा,कोर्न मन लाग्यो
कोरिएका ब्यथा र कथाका पोकाहरु,  
त्यहा सम्म पठाइ,
तपाईंको लोकप्रिय कार्यक्रम मार्फत
सुनाउन मन लाग्यो 
आश छ
प्रसारण गरिदिनु हुनेछ ।


मेरो नाम,मातादेबी "धर्ती" हो 
र मेरो जन्म,
बिक्रम सम्बतको अरबौ बर्ष पहिले
इस्बी सम्बतको करोडौ बर्ष पहिले
खगोलिय गर्भाशयमा
पुच्छ्रे ताराको बलात्कर पस्च्यात
प्रिथिबी भन्ने पिण्डको जन्म सगै भएको हो
अनी म यती बेला !
दक्षिणी गोलार्धमा
२६ डीग्री २२ मिनेट उतरी अक्षाश देखी
३० डिग्री २७ मिनेट उतर र
८० डिग्री ४ मिनेट पुर्वी देशान्तर देखी
८८ डिग्री १२ मिनेट पुर्वी देशान्तर सम्म 
आफ्नै सन्तानको चर्तिकला हेरेर
उकुस मुकुसमा
फुस्स फुस्स श्वास फेरेर
बाँचिरहेछु.....
केवक बाँचिरहेछु.... ।

डियर कल्याण !
जन्मे पछी ,
बढ्ने.. हुर्किने र फैलिने क्रम
म मा पनि जारी रहे,
यसै क्रममा
म काङंगडाबाट
बढ्दै -बढ्दै, फैलिदै-फैलिदै       
मलङ्गुवा र खलङ्गा सम्म पुगेको छु
टिस्टाबाट बढ्दै-बढ्दै, फैलिदै-फैलिदै
कुस्मा र सुस्ता सम्म पुगेको छु
नालापानीबाट बढ्दै-बढ्दै, फैलिदै-फैलिदै
कालापानी सम्म पुगेको छु
सतलज र देउथलको बिस्तारीत रुप
सल्यान सल्लेरी र देउखुरी हो।

डियर कल्याण !
जब म बढेँ, फैलिएँ, हुर्किएँ
पुर्वको च्याङ्गथापु र पश्चिमको चादनी
कलकलाउदो बैशले भरिएको जवानी
पहिलो रजरस्वाला संगै मेरो जीवनको बिहानी
मैले आफ्नो मन, आँफै सग अन्माएँ
बहादुर साहसी कर्मठ लाखौं सन्तान जन्माएँ   
शायद म बलात्‍कृत हुँदा,
बेमौषम थियो 
कुसाइत थियो
कुबेला थियो
कसैको चुक्ता गर्ने ॠण थियो
या त
आमाले सरापेको दिन थियो 
र त
दाई मार्ने भाई जन्मे
जंङ्गल पस्ने सन्तान निस्के
बन्दुक बोक्ने छोरा जन्मे
गोली ठोक्ने बहादुर आए
कर्म भुले धर्म सम्झे
साथ बिर्सें जात सम्झे ।

डियर कल्याण !
मैले कुरा बुझिँन या त बुझाउन सकिन
मेरै सन्तान,
मैल्यै जन्माएका सन्तान,
कसरी रगत फरक भए ? अनी आफ्नो रगत खोजी रहेछन
कसरी जात फरक भए ? अनी आफ्नो जात खोजी रहेछन
कसरी धर्म फरक भयो ? अनी आफ्नो धर्म खोजी रहेछन
मैले माथिल्लो घरे जिन्ताओ र
तल्लो घरे पुरी खाओसंग
आफ्नो अस्तित्व बेचेर सुटुक्क पोइला गै  
जन्माएको सन्तानहरु भए
मेरो झोलिएको स्तनबाट चुसेको दुधलाई
रगतमा बदली,
जातीको ब्युरेटमा
धर्म र संघियताको पिपेटले हाली 
टाइटेसन गरी, उनिहरुलाई
नेपाली होइनौ भन्ने प्रमाणित गर्न
चुनौती छ डियर कल्याण ! चुनौती छ!

अन्तत, डियर कल्याण !
आफ्नाले आफ्नैको दुखाएको मन छ यहाँ
आफ्नाले आफ्नैको डडाएको बन छ यहाँ
आफ्नोले आफ्नै बाट कमाएको धन छ यहाँ
यद्द्पी माता हुँ ,धर्ती हुँ
प्रसयपीडाको बेला
सगरमाथाको चुचुरोबाट हिउ पग्ली
निथ्रुक्क भिजेका मेरा पसिना बगेर
तल निस्किएका रगतका नदीलाई
सन्तानले चिन्नेछन, बुझ्नेछन

मेरो श्वास जानु पुर्व,
छट्पटीदै हुँदा,
सबै मिलेर 'आमा' भन्न आउनेछन, सुम्सुम्याउनेछन
मिलेका सन्तान हेरी हेरी सन्तोषले म पनि
पश्चिमको चादनी अस्त झै फुस्स अस्ताउला 
यसैमा विश्वाश छ
डियर कल्याण!
यसैमा विश्वाश छ....
...... 

बुद्धि मोक्तान

No comments:

Post a Comment