Wednesday, November 23, 2016

नबोल्ने मान्छे

बादलले अंगालेको आकाश खुल्दा,
जन्मिएको निहारिका भित्र,
चम्किएको तारा देख्दा
मनमा भंङगालोले
हजारौ पुच्छ्रेहरु खसेका छन
शायद अब यहाँ,
कविताको जन्म हुन्छ ।


मनको मुल फुटेर भंङगालो उर्लेपछी
गहको ताल भरिएर,
परेलीको भीरबाट हाम्फालेका छन,
एक पल्ट मलाई हेर
तिमीलाई मन पर्ने झरना होइन ..


म रोएको होइन
म कहाँ रुन्छु र
जब जब यी झरनाका थोपा र छिट्टाहरु
परेलीको भीरबाट गालाको बाटो गरी
उछित्टिन्छन्
क्षितिजको कुनाबाट उदाएको
एक सिधा किरण
मेरो मुटुको मोतीमा
प्रतिच्छेदित हुन्छन
फेरी मलाई हेर
तिमीलाई मन पर्ने इन्द्रेणी होइन ...


सागरको फिंजमा छालसंग जीवन खोज्ने म
न झरनामा रमाउन सकेँ न इन्द्रेणीमा
तिमी पनि आधा चक्का इन्द्रेणीमा के रमाउछौ
हराएको आधा चक्का इन्द्रेणी खोजेर
थपक्क नाङ्लोमा फूलसंगै सझाइ
तिहारमा देउसेलाई सिधा दिए झै तिमीलाई दिदा
तिमीमा देखिने खुशीका मुस्कान हेर्न
इन्द्रेणीले सुँड गाढेको भु-गर्भ भित्र
अन्तस्करण र दीगन्त कल्पनाले डुबुल्की
मारेको छु

तातो म्यग्मासंग  चिसो मसी मुकाबिला गर्दा
स्वाभिमानी हातहरु क्षतविक्षत हुन सक्छ
ताप र चापको फरकले
विस्फोट भै धर्ती फोडेर
हरियो भिरालो पाखामा
तिमीले हेर्दै गरेको झरना नजिकै
तिमीले देख्दै गरेको सुन्दर इन्द्रेणी नजिकै
कंन्चन्जंघाको फेदी र तिन्जुरेतिर
रगतपच्छे ज्यान निस्किने छ
त्यही बेला मलाई हेर
तिमीलाई मन पर्ने लालीगुँरास होइन


क्षितिज खुलेर जन्मिएको झुल्के घाम
मेरो मुहारको लालीगुँसमा पोखिन्छ
अमुर्त मुस्कानको लागी
बिस्तारै ओठहरु खुल्दा
तिमी मलाई हेर
तिमीलाई मन पर्ने सेता हिमाल
ती नै ओठका चेपबाट
तिमीलाई जिस्क्याइ रहने छन
यो भन्दा पहिले
दिमग्न छु ,ध्यानस्त छु
टोलाएको छु ,एकोहोरिएको छु
थुप्रैले मलाई चलाउलान
थुप्रैले मलाई घच्घच्याउलान
थुप्रैले बोलाउलान
म देशसंग बोली रहेछु
अरु कसैसंग बोली रहनु पर्छ जस्तो लाग्दैन

No comments:

Post a Comment