सुत्ला चेपेर,
दुधे दाना ग्रहण गर्दै गरेका
मकैका बोट,
छेवैका टाहारी खेत
अली माथिका काली बन
अनी ,
संगीत झै लाग्ने
कोदाला र ढुङ्गाका ठोकाइ .....
पहेली पात हान्दै गरेका
तिनै मकैका पातहरु.....
लाग्छ,
प्रेयसी कानैमा आएर सेउती गरे झै
पात माथी बर्षिने
असार र सावने रिमझिम......
म पनि सिर्जनाका बारी जोतेर,
करुण रसका बेर्ना रोपेर,
रौद्र र बीर
आतुरमा छु यती बेला
मैले पनि
ठुले र साहिँली काँ पर्म हालेर
भाईचारा जोड्नु छ ,
हिउँदभरी फुर्सदमा
बुरुक्क बुरुक्क
बेकामे छाती पिटेर उब्जाएको
बैमन्स्यता
ब्यस्त असारमा
आलो पालो गरेर निभाउँनु छ
ब्यस्त छु
हतारमा छु
र त
घुमको रङ्गमन्च बिस्तारै हटाउँछु
एक लर्को बतासले
पहेल पाते मकैका पातहरु,
मेरा अनुहार सम्म पुर्याउछन,
गालामा छुन्छन
अनी म ठान्दछु ,
प्रेयसीका केशराशीले मलाई स्पर्श गरिरहेछ
आज यो तेरो र मेरो भनेर
कुलो लडाउने दिन होइन,
मेरो हरियाली
उस्को गाभा सुकोस भन्ने दिन होइन
मेरो मैझारो
उस्को बाँझै होस् भन्ने दिन होइन
यस्को अलाबा ।
म त
मालिङगो चिरेर
चित्रा बनाइ
भर्लाको पातमा सिप लगाइ
घुमको आकारमा ओत लागि
काठको पिर्कामा बसेर
बाँया हातले कोदाका बेर्ना खट्टाइ
दाँया हातले धर्तीमा ल्याप्छे धसी
सुनौलो मंसिर भित्र्याउन तल्लिन छु।
घुमको रङ्गमन्च भित्र
हिलाम्य सावने झरी खेपेर
रोपिएका कोदाका बेर्नाहरु
धानका गाभाहरु
मकैका सुत्लाहरु
कोदो ,मकै र धान
भएर मात्र टुसाउने छैन
अंङ्कुराउने छैन
बिजाङ्कुराउने छैन
परागसेचिने छैन
गर्वाधान हुने छैन
हुन सक्छ
यी त भोली
सिरिषको फूल हुन सक्छन
दारिमाको रुख हुन सक्छन
महात्माको पिपलबोट हुन सक्छन
अनी हो यही तपस्याको लागि
घुम भित्रको रङ्गमन्चमा
लिथो र पन्नामा
केही असारहरु छरी रहेछु.....
बुद्धि मोक्तान
दक्षिण कोरिया

No comments:
Post a Comment